काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले शेख हसिनाको डेढ दशक लामो ‘क्रूर तानाशाही’ शासनकालमा देशका लगभग सबै संस्थाहरु ध्वस्त पारेको बताउनुभएको छ । साथै उहाँले हसिनाको शासनकालमा चुनावमा समेत धाँधली भएको आरोप समेत लगाउनुभएको छ ।
राजधानी ढाकामा विदेशी कुटनितिज्ञहरुसँगको भेटघाट प्रमुख युनुसले हसिनामाथि यस्तो आरोप लगाउनुभएको हो ।
युनुसले भारतका उच्चायुक्त प्रणय वर्मालगायत ढाकामा उपस्थित कूटनीतिज्ञहरूलाई आफ्नो प्रशासनले छिट्टै स्वतन्त्र, निष्पक्ष र सहभागितामूलक चुनाव गराउने आश्वासन समेत दिनुभएको छ ।
युनुसले आफ्नो सरकारले छिट्टै निष्पक्ष निर्वाचन गराउने तर निर्वाचन आयोग, न्यायपालिका, निजामती प्रशासन, सुरक्षा बल र सञ्चारमाध्यममा पूर्ण रुपमा उल्लेख्य सुधार भएपछि मात्र मतदान हुने स्पष्ट पार्नुभएको हो ।
डेढ दशकसम्म निर्मम दमनद्वारा हसिनाले प्रजातान्त्रिक अधिकारहरू दबाएको, न्यायपालिकालाई समेत पूर्ण रूपमा ध्वस्त पारेको उहाँको आरोप छ ।
८४ वर्षीय युनुसले देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग समेत माग्नुभएको बंगलादेशी सञ्चारमाध्यम डेली स्टारले उल्लेख गरेको छ ।
उहाँले क्रान्तिकारी विद्यार्थीहरूले देशलाई समृद्ध लोकतन्त्रमा परिणत गर्ने अर्थपूर्ण र गहिरो सुधार गर्न चाहेको बताउँदै यो काम ठूलो भएको तर सबै जनता र अन्तर्राष्ट्रिय समुदायको सहयोगले सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हसिना जुन १९९६ देखि जुलाई २००१ र फेरि जनवरी २००९ देखि अगस्ट २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री हुनुहुन्थ्यो ।