लहान । उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिरहाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का १ जना चिकित्सकविरुद्ध जाहेरी परेको छ । तत्कालीन मेसु डा.नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो । फिस्टुलाको अपरेसनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर गम्भीर घाउ बनाइदिएको भन्दै सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाका २४ वर्षीय रामबाबु महतोले उनीहरूविरुद्ध जाहेरी दिएका हुन् ।
पीडित महतोले जिल्ला हुलाक कार्यालयमार्फत आइतबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हुन् । प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालयमार्फत दर्ता गराएको पीडित महतोले बताए । मलद्वारमा समस्या भएपछि चैत ६ मा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट चैत ७ मा फिस्टुलाको शल्यक्रिया भएको थियो । अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का–हल्का जलेको थियो ।
शल्यक्रिया अस्पतालका तत्कालीन मेसुसमेत रहेका सर्जन डा.यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयं स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए । पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । चैत २८ मा मेसु डा.नागेन्द्र यादवको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।
घाउ बल्झिँदा महतोलाई भने सिरहा अस्पतालले वैशाख १८ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको ३ ठाउँमा डढेको घाउ निको भए पनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन । क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौँतारिरहेका छन् ।
मेसुसहित चिकित्सकको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाई खुट्टामा विपक्षीहरूवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु’, उनको जाहेरीमा उल्लेख छ ।उनले उपचार गराउन लागेको खर्च, आगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।