काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश सचिवमार्फत नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेकी छिन्।
सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा सचिव मिस्रीमार्फत सो कुरा उठाइएको उनको सचिवालयले जनाएको छ।
भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन्।
सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो।
त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसङ्ग उठाएकी थिइन्।
साथै सो शिष्टाचार भेटकाक्रममा मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन्।
मन्त्री डा राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन् ।