सत्ता गठबन्धनको संकट थप चर्किँदै, शीर्ष तहको छलफल नै अवरुद्ध

काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा संकटको अवस्था झनै चर्किँदै गएको छ। नेकपा एकीकृत समाजवादीलाई लिएर बनेको एमाले-माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतको गठबन्धन सरकारले पूर्वसहमतिअनुसार एकीकृत समाजवादीलाई नेतृत्व नदिँदा गठबन्धन नै धरमरकाे अवस्थामा पुगेको हो।

गठबन्धन गर्दा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको एकीकृत समाजवादीलाई दिने सहमति भएको भए पनि अहिले पूर्वसहमति अनुसार सिट नदिँदा समाजवादी गठबन्धनबाट भड्किएको छ।

हिजो (आइतबार) बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवारबाटमा सोही विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकमा छलफल सकारात्मक हुन नसक्दा समाजवादीका नेताहरू उठेर हिडेंँका थिए।

सो बैठकमा गठबन्धनले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोहीअनुसार माओवादी केन्द्र, एमाले, नाउपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा रन्जिता पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरे।

यसअघि नाउपाकै रेशम चौधरी पक्षले नेपाली कांग्रेससँग गठबन्धन गरी लक्ष्मणकिशोर चौधरीलाई दाबी पेश गर्न लगाएको थियो। मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई कांग्रेससँगै एकीकृत समाजवादी, नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थन छ।

केन्द्रमा भने हिजो बिहान बिना निष्कर्ष टुंगिएको छलफलपछि औपचारिक तथा अनौपचारिक कुनै पनि सम्वाद नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार हिजोको बैठकले रन्जिता पक्षको नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारको नेतृत्व दिने सहमति भएपछि छलफलमा सहभागी एकीकृत समाजवादीका नेताहरू उठेर हिँडेका थिए। त्यसपछि शीर्ष तहको छलफल नै अवरुद्ध छ।

गठबन्धनमा एमाले र माओवादीबाट धोका पाएको एकीकृत समाजवादीमा भने गठबन्धन छाड्नुपर्ने तहसम्मको छलफल सुरु भएको छ।

गठबन्धन पूर्वसहमतिमा नफर्किने हो भने सुदूरपश्चिमसहित बागमती र मधेस प्रदेशमासमेत एकीकृत समाजवादी सरकारबाट बाहिरिने चेतावनी दिएको एक पदाधिकारीले जानकारी दिए। ‘यदि बिग्रेको स्थितिलाई नसच्याउने हो भने सुदूरपश्चिमको घटना बागमती र मधेसमा बन्न सक्छ,’ ती पदाधिकारीले भने।

स‍ुदूरपश्चिमसहित बागमती र मधेस प्रदेशमा एकीकृत समाजवादी सरकार गठनमा निर्णायक छ। एकीकृत समाजवादीका बागमतीमा ७, मधेस ७ र स‍ुदूरपश्चिमा ४ सांसद् छन्।

यता, सोमबार बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने आधिकारिक निर्णय गरेको छ। सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्रीका उम्मेदवार चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार