काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत हानन गोडेर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।
आज सिंहदरबारमा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको विषयमा छलफल गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र घनिष्ट हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।अध्यक्ष दाहालले हालै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि छिटो पहल गर्न आग्रह गरे ।
अध्यक्ष दाहालले अहिले पनि इजरायलमा ४ हजार नेपाली कामदार रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीप्रति चासो व्यक्त गरेका थिए ।
इजरायलबाट नेपाल आउने उल्लेखनीय पर्यटकको बारेमा चर्चा गर्दै राष्ट्रपति दाहालले धेरैभन्दा धेरै इजरायली नागरिकलाई नेपाल भ्रमण गरी नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिन आग्रह गरे ।
सो अवसरमा इजरायलका राजदूत हाननले नेपाल र इजरायलबीचको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपाल कला, संस्कृति, परम्परा र पर्यटकीय गन्तव्यका हिसाबले निकै धनी रहेको बताए । राजदूतले नेपालमा लामो समय काम गर्ने मौका पाएको बताउँदै सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायत नेपालका धेरै पर्यटकीय गन्तव्यले विश्वमा नेपालको पहिचान बनाएको बताए ।
राजदूत गोडरले धेरै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको कार्यक्रमबाट आफूले आफैँले सिक र कमाउ कार्यक्रम सुरु गरेको बताए ।