जिल्लाबाट जन्मकैद, उच्चबाट सफाइ : नाराबाजीमा मृतकका आफन्त

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएकाहरूलाई सफाइ दिइएको भन्दै उच्च अदालत जनकपुरमा आफन्तले प्रदर्शन जारी राखेका छन्।

आइतबार पीडित परिवारले आफ्ना समर्थक सहित उच्च अदालतको मूल गेटमा फैसला गर्ने न्यायाधीशको विरुद्धमा नाराबाजी गरेका हुन्।

ज्यान मुद्दामा जिल्ला अदालतले महेश यादव, महेन्द्र यादव र लालबिहारी यादवलाई जन्मकैद र जगदीश यादव, पुष्पनरायण यादव,रामविलास यादव, बुधेश्वर यादव, राजदेव यादव लगायत १९ जनालाई एक-एक वर्षको कैद सजायको फैसला गरेको थियो। तर शुक्रबार उच्च अदालतले सबैलाई सफाइ दिएका हाे।

उच्चका न्यायाधीश किरण कुमार पोखरेल र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै दोषीलाई सफाइ दिएको रजिस्ट्रार सुशील कुमार यादवले जानकारी दिए।

मृतकका परिवारले फैसला सुनाउने न्यायाधीशको विरुद्धमा नाराबाजी गर्दै आर्थिक चलखेल गरी दोषीलाई सफाइ दिएको आरोप लगाएका छन्।

२०७१ साल चैत ८ गते धनुषाको सबैलास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गर्ने विषयमा विवाद भएको थियो। सोही दिन साँझ ७ बजेतिर एमाले समर्थित कार्यकर्ताले एक्कासि आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो।

भिडन्तमा गम्भीर घाइते भएका ४० वर्षीय स्थानीय रामसेवक राउतको उपचारको क्रममा काठमाडौंमा मृत्यु भयो। छलफलमा सहभागी स्थानीय ४० वर्षीय रामप्रकाश यादवलाई सोही राती अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए। तर मृतक परिवारका अनुसार यादवलाई स्थानीय जगदीश यादव र महेन्द्र यादवले काम छ भनेर राती घरबाट बोलाएर लगेका थिए।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार