विराटनगर । कोशी प्रदेशमा केन्द्रीय गठबन्धनको निरन्तरताका लागि छलफल जारी रहेको छ। नेपाली कांग्रेसको सरकार रहेको प्रदेशमा सजिलै गठबन्धन अघि बढ्ने अवस्था देखिएको छैन। गठबन्धनभित्रै पनि हाल सत्तामा रहेको नेकपा माओवादीको गतिविधि नेकपा एमालेले नजिकबाट नियाल्दै आएको छ।
नेकपा एमालेका पूर्वमुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नयाँ सत्ता समीकरणको विषयमा छलफल जारी रहेको बताउँछन्। दलका नेता कार्कीका अनुसार सत्ता समीकरणका लागि एमालेले आफ्नो सबै प्रक्रिया पुर्याएर माओवादीको पर्खाइमा रहेको छ।
उनले भने, ‘सत्तामा रहनुभएका गठबन्धन दलको ठ्याक्कै कुरा आइसकेको छैन। हामी गठबन्धन पक्ष छलफलमै रहेका छौं। अझै केही दिन लाग्न सक्छ। केन्द्रीय गठबन्धनअनुसार उहाँहरूलाई बागमती र लुम्बिनी दिएका छौं। तर कर्णाली र यता उहाँहरू नै विलम्बमा हुनुहुन्छ।’
सरकार अघि बढाउन बहुमत आवश्यक हुने बताउँदै नेता कार्कीले पहिले सत्तामा रहेका मन्त्री फिर्ता नभएकाे बताए।
कार्कीले भने, ‘हामी छलफलमा छौं। उहाँहरूले निर्णय लिन नसक्दा केही ढिलाइ भएको हो। अहिले उहाँहरू सरकारमा हुनुहुन्छ। पहिलो सरकारलाई दिएको समर्थनसहित सबै मन्त्री फिर्ता हुनुपर्ने हो। त्यो भएको छैन।’
अर्कोतर्फ माओवादीका केही नेताहरू काठमाडौंमा रहँदा निर्णय हुन सकेको छैन। माओवादीका एक प्रदेश सांसदका अनुसार बेलुकासम्म दलका नेताहरूबीच छलफल हुने कार्यक्रम रहेको छ। त्यसबाट केही निकास आउने सम्भावना रहेको उनको भनाइ छ।
गठबन्धनमा नयाँ समीकरणमा कसरी जाने भन्ने विषयमा सहमति बन्न नसक्दा निकास आउन नसकोको उनको भनाइ छ।
उनले भने, ‘गठबन्धनभित्र पनि सहमति हुनुपर्याे। कुनकुन मन्त्रालय लिने प्रष्ट हुनुपर्याे। अहिले त्यसतर्फसम्म पुगेका छैनौं।’तर सोमबारसम्म सरकारबाट समर्थन लिने वा मन्त्रीहरू फिर्ता बोलाउने एउटा खाका आउने बढी सम्भावना रहेको छ।