काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन्।
पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले पार्टीलाई बिर्सन थालेकाे अनुभूति हुँदै गएकाे उनले बताए।
जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नु पर्ने उनको भनाइ थियो।
‘जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिंगाे पार्टी चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने,´ कांग्रेस सुर्खेतले गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षणमा बोल्दै उनले भने, ‘अनि निर्वाचित भइसकेपछि पार्टी, पार्टी र कार्यकर्तालाई भुल्ने परिपाटीकाे अन्त्य हुन जरूरी छ।’
उपसभापति खड्काले पार्टी विधानले व्यवस्था गरेअनुसार नियमित बैठकहरू बसेर जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध सुमधुर हुन आवश्यक रहेकाे बताए। `निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ। यसले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ,´ उनले भने।
खड्काले निर्वाचनका बेला कांग्रेसकाे चुनाव चिन्ह बाेकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्वता जनाए।