काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले संघीय प्रहरी सम्बन्धी विधेयक पनि तर्जुमाको अन्तिम चरणमा रहेको सुनाए।
‘संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण रहेको संघीय प्रहरी सम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा छ’ उनले भने ‘प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी गराउन चाहन्छु।’
बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा सुधार आएको जिकिर समेत गरे। वाह्य क्षेत्र हालसम्मकै मजबुत अवस्थामा रहेको र सार्वजनिक वित्तको क्षेत्रमा समेत सुधार भएका उनको भनाइ थियो।
‘राजश्व परिचालन वृद्धि भएको छ। पुँजीगत खर्च पनि वद्धि गर्ने प्रयास गरिएको छ। मौद्रिक तथा वित्तीय क्षेत्र सवल छन्।’ उनले भने।
प्रधानमन्त्री दाहालले वित्तीय सहकारीका नियमन गर्न विशिष्टिकृत संस्था स्थापना गर्ने तथा सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने काम शुरु भएको जानकारी दिए।
प्रधानमन्त्री दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको सुनाए। तहगत अधिकार क्षेत्रमा स्पष्टता ल्याउन र अन्तर तह समन्वयलाई प्रभावकारी बनाउन ठोस पहल अगाडी बढाइएको उनको भनाइ थियो।