काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले पार्टीबाट टिकट नपाएपछि जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिए पनि सहकारीका कारण यो ठाउँमा जान बन्द हुने अवस्था देखिएको भन्दै व्यङ्ग्य गरेका छन्।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै बजगाईले कांग्रेसले टिकट नदिएपछि अवसर खोज्दै जाने ठाउँ रास्वपा थियो भनेका हुन्। रास्वपा जानुअघि वाग्ले कांग्रेसमा थिए।
‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी छ भन्ने पछिल्लो समय एउटा अवसरको ठाउँ बनेको थियो,’ उनले व्यङ्ग्य गर्दै भने, ‘यो सहकारीका कारण त्यो पनि बन्द हुने अवस्था छ। मलाई साथीहरू देखेर साह्रै चिन्ता लागेको छ।’
रास्वपा अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै निष्पक्ष छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।