पोखरा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चक्रव्यूह तोडेर एमाले बाहिर आएको बताउनुभएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेकोतर्फ सङ्केत गर्दै उहाँले देशको समृद्धिका लागि नयाँ गठबन्धन बनेको तर्क गर्नुभयो ।
एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । आइतबारसम्म चल्ने अधिवेशनमा नौ सय ३५ प्रतिनिधि सहभागी छन् ।
महासचिव पोखरेलले भन्नुभयो, “घेराबन्दी तोड्नु आवश्यक थियो, चक्रव्यूह तोड्नु आवश्यक थियो । हामी त्यो तोडेर बाहिर आएका छौँ ।” महासचिव पोखरलेले यथाशक्य सर्वसम्मत गर्न र नसके विधि र प्रक्रियाअनुसार अघि बढ्न आग्रह गर्नुभयो ।
“सहमति नभए लम्ब्याइरहने होइन, कार्यकर्तालाई सकस दिने होइन, विधि र प्रक्रियाअनुसार गर्ने हो” पोखरेलले भन्नुभयो, “यहाँ मञ्चमा भएकाहरूले नेता छान्ने होइन, तल भएकाहरूले नेता छान्ने हो । निर्वाचनै गए पनि परिणामपछि एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”
उहाँले समाजलाई बदल्न निर्वाहमुखी उत्पादन पद्धति बदल्नुपर्नेमा जोड दिनुभयो । कृषिको आधुनिकीकरण र व्यावसायीकरण नगरी नेपाल अघि बढ्न नसक्ने जनाउँदै समृद्धिको यात्राको नेतृत्व एमालेले मिसन ८४ मार्फत गर्ने उहाँको भनाइ छ । अहिले बनेको गठबन्धन वामपन्थी गठबन्धन नभएको प्रष्ट पार्दै उहाँले भन्नुभयो, “एमाले समाजवादी मोर्चामा पनि सहभागी भएको छैन ।”
अधिवेशनले एकसय ४१ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले भूगोल र इलाका कमिटीको प्रतिनिधित्व हुनेगरी एकसय २० सदस्यीय कार्यसमिति निर्वाचनबाट चुनिने जनाउँदै विधान अनुसार १० प्रतिशत मनोनीत र विभिन्न पार्टीबाट समायोजन १० प्रतिशत गरी एक सय ४१ सदस्यीय कमिटी बन्ने बताउनुभयो ।
एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी, कास्की इन्चार्ज थममाया थापालगायतले सम्बोधन गर्नुभयो ।