काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिए । २०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो ।
‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, अधिकारीले भने, ‘नेपाल सरकारको स्वीकृतबिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन, मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ ।’
कानून अनुसार सरकारको जग्गाको हक हस्तान्तरण गर्दा मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृति चाहिन्छ । तर बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन ।
बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।