काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बाटो निर्माण योजनामा अनियमितता गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, अध्यक्ष धनलाल चौलागाईंसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाही, अध्यक्ष चौलागाईं, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा, सचिव हंशबहादुर ऐडी र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् । उनीहरू सबैसँग १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा चंखेली-३ स्थित मेलादेखि बासलधारासम्म काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
झुटो बिल भरर्पाइ तथा नक्कली कागजातलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।