प्रचण्ड झलनाथसँग हात मिलाउँदा देउवा र माधव नेपाललाई ओलीको नमस्कार, गरेनन् फिर्ता

चितवन । सत्ता गठबन्धनमा समस्या आइरहेको चर्चाकाबीच चितनको भरतपुरमा पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भरतपुर भ्रमण वर्ष २०२४ को शुभारम्भ गरिएको छ ।

भरतपुर भ्रमण वर्ष शुभारम्भको कार्यक्रमको सुरुवातमै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल लगायत पुगेका थिए । कार्यक्रम चलिरहँदा नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगे ।

भरतपुर महानगर प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ कि छोरी रेनु दाहाल छिन् । दाहालले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।

ओली मञ्चमा दुवै हात जोडेर नमस्कार गर्दै उक्लिएका थिए । ओलीले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी माधव नेपाल र देउवा लगायत अन्यलाई नमस्कार गरे । रेग्मीले हल्का उठेर नमस्कार फर्काए पनि देउवा र नेपाल दुवैले ओलीको नमस्कार फर्काएनन्, मुन्टो हल्लाए । त्यहाँबाट अघि बढेका ओलीलाई प्रधानमन्त्री प्रचण्डले हात दिए र दुवैले हात मिलाए ।

पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने मञ्चको अर्कोपट्टी बसेका थिए । ओली आएपछि उनी उठे । हात दिए र ओलीले खनालसँग हात मिलाए । गठबन्धनमा समस्या आइरहेको तथा ओली र प्रचण्ड नजिकिरहेको चर्चा चलिरहँदा ओली चितवन पुगेका हुन् ।

सरकार र गठबन्धनको चर्को आलोचना गरिरहेका ओली एकाएक प्रचण्डसँग नजिकिनु र प्रचण्डकी छोरी(भरतपुरकी मेयर)को कार्यक्रमलाई जानु सामान्य नभएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

पछिल्लो समय नेपाली कांग्रेसमा माओवादीसँगको गठबन्धनको विषयमा देखिएको असन्तुष्टी र राष्ट्रिय सभा अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने माओवादी निर्णयले कांग्रेस माओवादीसहितको गठबन्धनमा सहज अवस्था नभएको आकलन गरिएको छ । तर, कांग्रेस सभापित देउवाले भने चितवनमै गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार