भरतपुरमा ठाउँठाउँबाट निस्किए र्‍याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु

भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहितको र्‍याली निस्किएका छन् ।

महानगरको आव्हानसँगै भरतपुर महानगरका २९ वटै वडाका संघसंस्था, वडा, टोल विकास संस्था, विद्यालय र क्याम्पसबाट विविद्य सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको हो ।

पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरेर र्‍याली निस्किएपछि भरतपुरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
बिहान ११ बजेदेखि र्‍याली सुरु भएको छ ।

वडा नं ६, ८, ९, १३, २१, २२, २३ र २४ को र्‍याली हाकिमचोकबाट, वडा नं ५, ७, १४, १५, १८, १९, २०, २५, २६, २७ र २८ को र्‍याली त्रिचोक र वडा नं १०, ११, १२ र २९ को र्‍याली गेष्टहाउस चौरबाट सुरु भएर चौविसकोठीमा जोडिँदै नारायणी नदी किनारमा पुगेको छ ।

त्यस्तै, वडा नं १ र २ को र्‍याली क्याम्पा चौरबाट सुरु भएर बालकुमारी रोड हुँदै लायन्सचोक निस्किएर नदी किनारतर्फ लागेको छ भने वडा नं ३, ४, १६ र १७ को र्‍याली बेलचोकबाट सुरु भएर संगम रोड हुँदै सहिद चोक निस्किएर उद्घाटन स्थल पुगेको छ । र्‍यालीले बाटो क्रस गर्दा केहि समय सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

उकृष्ट र्‍याली सहभागी वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । र्‍यालीमा सहभागीहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने जनाइएको छ ।

प्रथम, द्धितिय र तृतिय हुने वडाको ¥यालीले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै ¥यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ ।

उत्कृष्ट र्‍यालीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्ने छन् । यस्तै उत्कृष्ट र्‍याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट र्‍याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । महानगरपालिकाले र्‍यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ ।

¥यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार