काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/सङ्गीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ । आचार्यको पार्थिव शरीर मङ्गलबार श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
साङ्गीतिक क्षेत्रमा अग्र पङ्क्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठुलो क्षति पुगेको बताउनु भयो । उहाँले आचार्यको भौतिक शरीर नरहे पनि उहाँको सिर्जना कालजयी रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । साङ्गीतिक क्षेत्रमा अग्र पङ्क्तिमा नाम आउने उहाँकै थियो । नेपाली सङ्गीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली सङ्गीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’’
स्व. आचार्य सुर सम्राट्का रूपमा साङ्गीतिक क्षेत्रमा रही रहनुहुनेछ : महामन्त्री शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राट्का रूपमा परिचित रहनुभएको बताउनुभएको छ । उहाँले स्वर सम्राट् नारायणगोपाल भएझैँ सुर सम्राट्को रूपमा स्व. आचार्य रहनुभएको बताउनुभयो । उहाँले स्व. आचार्यले नेपाली गीत/सङ्गीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने जानकारी दिनुभयो । उहाँले भौतिक रूपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र साङ्गीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनुभयो ।
महामन्त्री शर्माले आचार्य साङ्गीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रूपमा नेपाली सङ्गीत प्रेमीहरूको बिचमा, नेपालीहरूको बिचमा सधैँ अमर रही रहने बताउनुभयो ।