काठमाडौं । सरकार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितले आज काठमाडौंको तातो पिचसडकमा खाली खुट्टा पैदल मार्च निकालेका छन् ।
अस्थायी रूपमा भृकुटीमण्डपमा बसिरहेका उनीहरूले आज दिउँसो भद्रकाली–सहिदगेट, सुन्धारा–शान्तिबाटिक हुँदै भृकुटीमण्डपसम्म खाली खुट्टमा मार्च निकालेका हुन् ।
अहिले उनीहरूले शान्तिबाटिकामा कोणसभा गरिरहेका छन् । ९ फागुनमा काठमाडौं आइपुगेका उनीहरूले न्यायका लागि सरकार गुहारिरहेका छन् ।
गत चैतमा ११ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याजपीडितलाई सरकारले न्याय दिलाउने लिखित सहमति गरेपछि उनीहरू फर्किएका थिए । तर, वर्ष दिन पुग्न लाग्दा पनि न्याय नपाएको भन्दै पीडितहरू फेरि सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आएका हुन् ।