काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको छ। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो।
मन्त्रालयले मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई पत्राचार गरी छलफलका लागि आउन आग्रह गरेको छ।
पत्रमा मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि यस मन्त्रालयमा विभिन्न मितिमा छलफल भएको उल्लेख गर्दै मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकार सम्पन्न आयोग गठन, आयोगको कार्यकाल समाप्त भई विघटन भएपश्चात् उजुरी फर्छ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप समेत गराउने र सहमति नभएका विषयमा कानून बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारीले सो को अनुगमन गर्ने व्यवस्था मिलाइएको भनिएको छ।
‘उपर्युक्त व्यवस्थाका बाबजुद पनि त्यस सङ्घर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदल यात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ,‘मिटरब्याज समस्या समाधानको लागि मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकोले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनुहुन आदेशअनुसार अनुरोध छ।’
यसअघि शनिबार पनि गृह मन्त्रालयले मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई व्यक्तिगत पत्राचार गर्दै छलफलका लागि बोलाएको थियो। यद्यपि पीडितहरूले व्यक्तिगत लेखिएको पत्रकै आधारमा छलफलमा नजाने भन्दै इन्कार गरेका थिए।