चितवन । चितवनको भरतपुर महानगरपालिका– १७ मा एकै दिनमा दुई डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुवै थरीका बोरिङको उद्घाटन गरेकी हुन् ।
भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।
भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महसुस गरेको प्रमुख दाहालले बताइन् । ‘पहिलाको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन्, उनले भनिन्, ‘एक बाली हुने ठाँउमा ४ बाली हुन थालेको छ, अहिले कृषकहरु खुसी भएको पाएका छु, १२ महिना भरत पुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ ।’
भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङ्गा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले बताइन् । पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए । सिँचाईको उपभोग गरी वर्षिक ६ लाख रुपैयाँको मैक विक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए ।
भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो ।भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको उनले बताए ।
भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० विघा क्षेत्रफलमा सिँचाईका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।