ललितपुर । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरु भएको छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ ।
कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।
बैठक पार्टी सभापति देउवाले दिउँसो १ बजे उद्घाटन गर्नुहुनेछ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।