हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानको मर्म र भावना अनुसार सामाजिक सद्धभाव कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
विगत सात दशक यताका सबैखाले सङ्घर्ष र आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको साँचो अर्थमा कार्यान्वयनको चरणमा रहेको जिकिर गर्दै यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य रहेको उहाँले बताउनुभयो । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यकासाथ गठन भएको बागमती प्रदेश सरकार, बागमती प्रदेशको विकास र समृद्धिका लागि दृढ रहेको उहाँले विश्वास दिलाउनुभयो ।
जहानियाँ, निरङ्कुश शासनविरुद्ध बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरूप वि.सं.२००७ सालको आन्दोलन सफल भए पश्चात् आधारभूत मानवअधिकारको बहाली भई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते मनाउने राष्ट्रिय प्रजातन्त्र दिवस तथा लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले सङ्घर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरूको अमूल्य योगदानको मुख्यमन्त्रीले स्मरण गर्नुभएको छ ।
दिवसको अवसरमा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामनासहित शुभकामना व्यक्त गर्दै देशमा लोकतन्त्र प्राप्ति एवम् राष्ट्रियताको संवर्द्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षहरूमा जीवन आहुति दिनुहुने महान् सहिदहरूप्रति उहाँले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।