काठमाडौं । बहुचर्चित ललितानिवाससम्बन्धि भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर भएका छन् । बिशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै उनलाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको फैसला गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोग उनको थियो । त्यतीबेला उनी भौतिक योजना मन्त्रालयका सचिव थिए । जसमा उनले प्रक्रिया मिचेको र अदालतको फैसलालाई समेत गलत ब्याख्या गरेको बिशेषले ठहर गरेको हो । साथै तत्कालिन सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन् ।
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । बिशेषले आंशिक ठहरको फैसला गरेको छ । यो प्रकरणका मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदी दोषी ठहर भएका छन् ।