त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जित यात्रा टुंगियो, नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । यो हारसँग त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जितयात्रा टुंगिएको छ ।

नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको थिएन। सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएयता कीर्तिपुर मैदानमा भएका सबै १५ खेल जितेको थियो ।

यूएईसँगको तीन खेलको शृंखला नेपालले पहिलो खेल हारेर पनि लगातार दुई खेल जित्दै हात पारेको थियो ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३।१ अ‍ोभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो ।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए ।

ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेलले पनि एक विकेट हात पारे ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१।५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिएपछि नेपाल घरेलु मैदानमै १३२ रनमा अलआउट भएको हो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार