काठमाडौं । विभिन्न बहाना बनाएर व्यवसायीसहित विभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ७ करोड ७७ लाख ५९ हजार रुपैयाँ ठगेको आरोपमा चार जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रे घर भई पोखरा बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा घर भई कास्की बस्ने ४२ वर्षीय मिना दमै, सिन्धुली घर भई काठमाडौं बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ छन् । उनीहरूले ठगी गर्न विभिन्न बहाना बनाएर मानिसहरूको विश्वास जित्ने गरेको पाइएको छ । सुनका गहना विदेशमा निर्यात गरिदिन्छौं भन्दै सुन व्यवसायीहरूसँग करोडौं रकम ठगी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो । थापालाई प्रहरीले भक्तपुर कमलविनायकबाट पक्राउ गरेको थियो। त्यसपछि अन्य तीन जनालाई पनि पक्राउ गरेको हो । उनीहरूले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरिद गरेका थिए। त्यसरी विश्वास जितेपछि उनीहरूले १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनेर लिएको एसपी रेग्मीले बताए ।
त्यसबापत उनीहरूले व्यवसायीलाई चेक दिएका थिए। तर व्यवसायीले रकम भने पाएनन् । त्यस्तै दिलिपकुमार लाभले भक्तपुर सुडालमा रहेको १२ आना जग्गा दिलाइदिने भन्दै परिवार अटो मोबाइलका संचालकबाट ३ वटा निसान किक्स गाडी र २६ लाख रकम लिएर सम्पर्कबिहीन भएको आरोप छ । उनले चितवनमा पनि जग्गा दिलाइदिने भन्दै बैना गरी एक करोड ३६ लाख ठगी गरेको पनि आरोप छ ।
मिनाविरूद्ध कास्कीमा मात्रै ७ वटा ठगीका मुद्दा दर्ता छन् । चितवनमा पनि दुई वटा मुद्दा दर्ता भई फरार छन् । कुमार थापाविरूद्ध कास्कीमा दुई करोडको बैंकिङ कसुरमा मुद्दा दर्ता भएको हो । रविनकुमार थापाविरूद्ध चितवनमा चार वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता छन् ।