काठमाडौं । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर जलाएको आरोपमा जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश भएको छ ।
आइतबार रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग झिकाउने आदेश दिएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
अदालतको यस आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू अदालतमा उपस्थित हुनेछन् भने अदालतले उनीहरूको बकपत्र लिनेछ । बकपत्र लिएपछि पुनः पेशी तोकिनेछ ।
संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा करिब १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।
२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरवलोकनका लागि निवेदन दिएका थिए । २०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।