काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसूरमा फरार रहेका राम भक्त थापालाई पक्राउ गरेको छ । पुनरावेदन अदालत पाटनको मिति २०७१ बैशाख २९ गतेको फैसलाले थापालाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ (२) (घ) बमोजिम तीन वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो ।
सिआइबीका अनुसार थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी आफू सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी आठ करोड पचास लाख रुपैंया कर्जा लिएका थिए ।
सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडलाई नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैंया चौहत्तर पैसा विगो बराबर हानी नोक्सानी पुर्याएको भन्ने बैंकिङ कसूर मुद्दामा (साविक) पुनरावेदन अदालत पाटनले सजाय सुनाएको थियो ।
फरारा रहेका थापालाई सिआइबीको टोलीले मिति २०८० माघ २६ गते कोटेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८० माघ २८ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।