काठमाडौं । बासबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितका व्यक्तिलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
व्यवसायी चौधरीसहित तीन जनालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई सोमबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी चौधरीसहित, तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी ग्रुप चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।
सीआईबीले उनीहरुलाई गत शुक्रबार पहिलो पटक अदालतमा उपस्थित गराएको थियो । अदालतले उनीहरुमाथि छानबिनका लागि पहिलोपटक चार दिनको म्याद दिएको थियो । सीआईबीले चौधरीमाथि सरकारी लिखत किर्ते र ठगीमा अनुसन्धान गरिरहेको छ ।