काठमाडौं । मोवाइल ल्याव भ्यान खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतोमा २४ करोड ८० लाख रूपैयाँ भ्रष्टाचार भएको आरोप अख्तियारले लगाएको छ । अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, कृषि परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्ता समेत गरी १३ जना विरुद्ध ५ असार ०७६ मा मुद्दा दायर गरेको थियो ।
तर, विशेषको फैसलापछि सबै आरोपितहरूले सफाइ पाएका थिए । आरोपित उपर अख्तियारले लगाएको कसुर पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइको फैसला गरेको थियो । अहिले अख्तियार विशेषको फैसलामाथि पुनरावेदन गर्न सर्वोच्चमा पुगेको छ ।
यसअघि विषेश अदालतले मोबाइल भ्यान सञ्चालन गर्न विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २०७९ वैशाख २५ मा नै आदेश दिएको थियो । अदालतको आदेश पालना गरी भ्यान सञ्चालन गर्न विभागलाई मन्त्रालयले गत जेठ १८ मा लिखित निर्देशन दिएको थियो । त्यसपछि पनि धेरै पटक मौखिक निर्देशन दिइसकेको छ ।
विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बाँस्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले मोबाइल भ्यान उद्देश्य अनुरूप प्रयोग गर्न आदेश दिएको हो । ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुन उद्देश्यका लागि मोबाइल भ्यान खरिद गरेका हुन्, सो उद्देश्य अनुरूपको कार्यमा प्रयोग गरी ३ महिनाभित्र परीक्षण प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा र अदालतमा मासिक रूपमा उपलब्ध गराउनु,’ आदेशमा भनिएको छ ।
सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने नाममा २८ करोड खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भइसकेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि दैनिक रूपमा बजारमा घुम्नुपर्ने यी मोबाइल भ्यान विभाग परिसरमा थन्किएको ४ वर्ष पुगेको छ । पाँच वर्षअघि खरिद गरिएका यी मोबाइल भ्यान विभागले खाद्य गुणस्तर परीक्षणका लागि एक वर्षभन्दा धेरै समय प्रयोग गरेको छैन ।
सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको हो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोड रूपैयाँमा खरिद गरिएको थियो । विभागले २ र कृषि परियोजनाले २ वटा भ्यान खरिद गरेका थिए । भ्यान खरिद गरेको सुरुको एक वर्ष विभागले बजार अनुगमनका लागि प्रयोग गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । खाद्य विभागको अर्ध वार्षिक प्रगति समीक्षामा मन्त्री भुसालले लामो समयदेखि थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
मन्त्री भुसालले भने,‘तेस्रो पटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नोस । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नु पर्ने छ । चलाउन नसके हात उठाऔं, अर्को व्यवस्था हुन्छ्, नत्र जसरी हुन्छ चलाऔं । राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन्,’ मन्त्री भुसालले भने ।मन्त्री भुसालले भ्यान चलाउने आधार प्रस्तुत गर्न विभागलाई निर्देशन दिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले पटकपटक मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए । मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहितको छलफल गर्न पनि उनले निर्देशन दिए ।
विभागले सम्पादन गरेको काम प्रति त्यति धेरै सन्तृष्ट नभएको उनले बताएका छन् । समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न उनले निर्देशन दिए । ‘जनतासँग खाद्यको विषय जोडिएको छ । विभागले काममा सक्रियता देखाउनु पर्छ । प्रगति विवरण अर्धवर्षिक रूपमा नभए मासिक रूपमा सार्वजनिक गर्नोस । अब अर्धवार्षिक रूपमा कामको विवरण पेश गरेर हुँदैन्’, मन्त्रीभुसालले भने,‘विभागभित्र प्रगति पेश गरेर जनताले सुन्दैनन्, अब मासिक रूपमा कामको विवरण सार्वजनिक गर्नोस, आफूले गरेको काम जनताको बीचमा लैजानोस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।’