मधेश प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलमा जनमतको दाबी

काठमाडौ । मधेश प्रदेशमा सरकारबाट बाहिरिएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलमा दाबी गरेको छ ।

जनमतका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् ।सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकाबाट बाहिरिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनले दाबी गरेका छन् ।

हाल मधेश प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षी दल रहेको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन । तर एमालेले सरकारलाई समर्थन गर्दै आएको छ ।

जनमत पार्टीले भने सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ ।

जनमतका संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षी दावी गर्नु स्वाभाविक रहेको बताएका छन् । एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार