काठमाडौँ । सिराहा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सिराहामा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएपछि गृह मन्त्रालयले त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ । सिराहामा सह–सचिव बासुदेव दाहाललाई पठाउने निर्णय भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
नुवाकोटमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा रामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । सहसचिव अधिकारी यसअघि लमजुङको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा आएका थिए ।
यसअघि गृह मन्त्रालयले सिराहामा कार्यरत सिडिओ राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मिटरब्याजी मामिलामा सुदखोरहरुलाई कडाई गरेपछि सिरहाका प्रहरी प्रमुख टेकुनन्द लिम्बु र सिडिओ राजेन्द्रदेव पाण्डेलाई तान्न गृहमन्त्री नारायण काजी श्रेष्ठ निकट बिश्वनाथ साहले दबाब दिइरहेको थियो । माओवादी नेतृत्वको सरकारमा माओवादी पार्टीकै गृहमन्त्री भएपछि सोही पार्टीका मिटरब्याजीहरुलाई संरक्षण गर्ने उदेश्यले दुवैलाई हटाइएको हो ।
केही दिन अगाडी सिडिओ कार्यालयमै एक मिटरब्याजी पीडितबाट कुटिएपछि सिडिओलाई हटाउन माओवादीकै केही नेताहरु अर्जी लिएर गृहमन्त्रालय पुगेका थिए । मिटरब्याज मामिलामा गडबड गरेको भन्दै गृहमन्त्रालयले दुवैलाई हानेको हो ।
सिरहामा कैयौँ मिटरब्याजीहरु माओवादी निकट नेता कार्यकर्ता रहेको तथा दलाली गर्न समेत सोही पार्टीका केही कार्यकर्ता, नेपाली काँग्रेसका केही कार्यकर्ता, एमालेका केही कार्यकर्ताहरु सक्रिय रहेको अवस्थामा एसपी र सिडिओलाई हटाउँन राजनीतिक शक्तिको दुरुपयोग गरिएको छ ।
मिटरब्याज पीडित उन्मुक्तिको नाममा सिरहामा केही सँचारकर्मीहरु समेत कमाई खाने भाँडो बनाएको छ । मिटरब्याजकै मामिलामा प्रशासन आफू अनुकुल नभएको भन्दै केही नेताले उनीहरुलाई सरुवा गराइएको छ ।