प्रधानमन्त्री प्रचण्डले राष्ट्रघाती सम्झौता गरेको झलनाथको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

आज (सोमबार) केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम नगरेको र अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले त झन राष्ट्रघाती सम्झौता गरेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले दूतावासबाट सोझै परियोजनामा २० करोड रुपैयाँ रकम दिन सकिने गरी सम्झौता गरेको र उक्त सम्झौता राष्ट्रघाती र देशको सार्वभौमसत्ताको विरुद्धमा रहेको बताए ।

वर्तमान सत्ता गठबन्धनले आफूहरुलाई गठबन्धनको लोभ देखाएर आगामी निर्वाचनमा पाखा लगाउन खोजेको उनको टिप्पणी छ । ‘हामीलाई गठबन्धनबाट लोभ्याइदिने अनि आउने निर्वाचनमा के गर्छन् भन्ने हामीले देखिसकेका छौं । हाम्रो कारणले यो गठबन्धन बनेको हो । हाम्रो सहयोग, हाम्रो योगदान नभएको भए यो गठबन्धन बन्दैन थियोृ । त्यसको मूल्य खोई खोलामा बगाइयो,’– उनले भने ।

साथै, पार्टीले अब जनताको बहुदलीय जनवादलाई बोकेर हिँड्न नहुने उनको भनाइ छ । पार्टीले जबज बोकेर हिँड्ने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले जबज भनेको बढि सुनिने उनको टिप्पणी छ । नेता खनालले पार्टीले जबज बोक्ने वा छोड्ने भन्ने कुरा आगामी महाधिवेशनबाट क्लियर हुनु्पर्ने बताए । महाधिवेशनले पार्टीको वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक र कार्यशैलीका हिसाबले रुपान्तरण गर्न आवश्यक रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार