काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई हजार दुई सय वटा दुई पाङ्ग्रे र तीन सय वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ ।
न्युरोड जाने सवारी धनीहरुका लागि महानगरले सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको हो । यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ्को संख्याभन्दा धेरै रहेको महानगरले जनाएको छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार आज धरहराको पार्किङ् भवनमा करिब नौ सय जना सवारी चालकले निःशुल्क पार्किङको सेवा लिए ।
महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेल अनुसार न्युरोडको कालोपत्रे सडकमा एक हजार तीन सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्थ्यो ।