आज धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरे स्थानमा स्मृतिसभा

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौं महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरे स्थानमा स्मृतिसभा गरिएको हो ।

कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ । सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाकी उपप्रमुख सुनिता डंगोलले सुखसयल त्यागेर नागरिक स्वतन्त्रताका लागि प्राण उत्सर्ग गरेको बताइन् । सहिद माथेमाको सम्मानमा कामपाले वडा नम्बर २३ ओमबहालमा पार्क बनाएको छ ।

महानगरको लगानीमा निर्माण हुने मानवसेवा आश्रम उनकै नामबाट बनाउने योजनामा रहेको डंगोलले जानकारी दिइन् । सभामा वडा नम्बर ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यालयस्तरमा सहिदकाबारेमा बुझाउन सक्नुपर्ने बताए ।

वि. सं. १९६६ आश्विन ९ गते काठमाडौंको ओमबहाल, नबहिलमा जन्मिएका माथेमालाई तत्कालीन सासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई १९९७ माघ १३ गते काठमाडौंको सिफलमा ३१ वर्षको उमेरमा बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र ९ दिनपछि दशरथचन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार