बैकिङ क्षेत्रमा खराब कर्जाको दबाब, विकास बैंकलाई पनि सकस

काठमाडौं । बैंकहरूमा खराब कर्जाको दबाब बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवस्थाको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी हुनु राम्रो होइन । त्यस्तो भएमा शीघ्र सुधारका काम गर्नुपर्ने हुन्छ । चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ९ बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी भए पनि ५ प्रतिशत पुगेको भने छैन ।

दोस्रो त्रैमासमा सबैभन्दा बढी खराब कर्जा अनुपात हुने बैंकमा पहिलो नम्बरमा कुमारी बैंक छ । २०८० पुससम्म यो बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत छ । गत आवको सोही अवधिमा कुमारी बैंकको यस्तो अनुपात ३.१५ प्रतिशतमात्रै थियो ।

हिमालयन बैंकको खराब कर्जा अनुपात गत आवको पुसमा ३.७७ प्रतिशत रहेकोमा चालु आवको पुससम्ममा बढेर ४.९५ प्रतिशत पुगेको छ । चालु आवको पहिलो त्रैमासमा यो बैंकको यस्तो कर्जा अनुपात ४.६७ प्रतिशत थियो ।यस्तै, गत आवको पुसमा १.९८ प्रतिशतमात्रै खराब कर्जा अनुपात रहेको प्रभु बैंकको चालु आवको पुससम्ममा ४.९ प्रतिशत खराब कर्जा पुगेको छ । चालु आवको पहिलो त्रैमासमा यो बैंकको खराब कर्जा अनुपात ३.९७ प्रतिशत थियो ।नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खराब कर्जा अनुपात चालु आवको पुससम्ममा ४.७५ प्रतिशत पुगेको छ । गत आवको पुसमा ३.७१ प्रतिशत रहेको यो बैंकको खराब कर्जा अनुपात चालु आवको पहिलो त्रैमासमा ४.३८ प्रतिशत थियो । ग्लोबल आइएमई बैंकको खराब कर्जा अनुपात गत आवको पुसमा २.९२ प्रतिशतमात्रै रहेकोमा चालु आवको सोही अवधिमा ४.६८ पुगेको छ । चालु आवको पहिलो त्रैमासमा यो बैंकको खराब कर्जा अनुपात ४.३८ प्रतिशत थियो ।लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात पुस २०८० मा ४.६७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा अनुपात १.५६ प्रतिशत रहेकोमा चालु आवको पहिलो त्रैमासमा ४.६९ पुगेको थियो ।

नेपाल बैंक, सिटिजन्स तथा प्राइम बैंकको खराब कर्जा अनुपात ४ देखि ४.५ प्रतिशतको बीचमा छ । पहिलो त्रैमासमा ६ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात ४ प्रतिशत माथि रहेकोमा दोस्रो त्रैमाससम्ममा ९ पुगेको हो । अझ गत आवको पुस मसान्तसम्मको अवस्था हेर्ने हो भने त्यतिखेर कृषि विकास बैंकको बाहेक अरु बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि थिएन ।गत वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात औषतमा २.२९ प्रतिशत रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ३.३९ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तसम्ममा प्रायः बैंकहरूको खराब कर्जा अनुपात उच्च रहेको देखिन्छ । अर्थतन्त्रमा आएको सुस्तताले निरन्तरता पाउँदा बैंकहरूले कर्जा असुली गर्न नसकेपछि खराब कर्जा अनुपात बढ्न पुगेको जानकारहरू बताउँछन् ।

दोस्रो त्रैमासमा केही बैंकहरूले खराब कर्जामा सुधार गरेका कारण पहिलो त्रैमासको तुलनामा केही नियन्त्रणमा देखिन्छ । तर, गत आवको दोस्रो त्रैमासको तुलनामा अहिले बैंकहरूको खराब कर्जा झण्डै ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा सिद्धार्थ, नबिल र कृषि विकास बैंकबाहेक अन्य सबै बैंकको खराब कर्जा बढेको छ । गत आवको दोस्रो त्रैमासमा ४.५२ प्रतिशत रहेको कृषि विकास बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ३.०२ प्रतिशतमा झरेको छ ।खराब कर्जाको अवस्था बढ्दै गएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा पुनर्संरचना तथा पुनर्तालिकिकरण गर्ने व्यवस्था गरेको थियो । तर, यसले पनि बैंकहरूको खराब कर्जालाई न्यूनिकरण गर्न सकेन ।

राष्ट्र बैंकले ११ क्षेत्रका कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेकाले खराब कर्जा घट्ने बैंकरहरूको अपेक्षा थियो । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिए पनि खराब कर्जाको अवस्था सुध्रन नसकेको हो ।

पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले अर्थतन्त्रको अवस्थामा अझै सुधार भइनसकेका कारण बैंकले कर्जा असुल्न समस्या हुँदा खराब कर्जाको अवस्थामा सुधार हुन नसकेको बताएका छन् । व्यवसाय बिग्रँदै जाँदा बैंकमा पनि समस्या आएकाले यसलाई सुधार्न व्यवसाय सप्रँदै जानुपर्ने देखिएको छ । व्यवसाय राम्रोसँग सञ्चालन हुन सकेपछि विस्तारै खराब कर्जा कम हुँदै जान सक्छ ।

बैंक र अर्थतन्त्रको जुनसुकै क्षेत्रबीच नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । नागरिकको आम्दानी बढ्दा बैंकको पनि बढ्ने र घट्दा बैंकको पनि घट्ने गर्छ । अर्थतन्त्रको अवस्था सुधार्नका लागि सरकार र निजी क्षेत्रले गम्भीर ढंगले छलफल गरेर अगाडि बढ्नुपर्ने देखिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्ट भने बैंकहरूले कर्जा असुलीलाई नै प्राथमिकतामा राखेको बताउँछन् । अर्थतन्त्रमा देखिएको शिथिलताको उपजको रुपमा खराब कर्जालाई हेर्न गरिन्छ ।

नाफा प्रभावित

बैंकहरूले कर्जा असुली गर्न नसक्दा यसको असर नाफामा देखिएको छ । कर्जाको साँवा–ब्याज उठाउन नसक्दा त्यसलाई प्रोभिजन गर्नुपर्ने हुन्छ । यसले गर्दा अधिकांश बैंकको वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको खुद नाफा गत आवको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ । गत वर्ष पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड नाफा कमाएका वाणिज्य बैंकहरूले चालु आवको सोही अवधिमा २८ अर्ब ७६ करोड नाफा आर्जन गरेका छन् ।

वित्त कम्पनीको अवस्था पनि उस्तै

चालु आवको दोस्रो त्रैमासमा बैंकहरूले मात्र नभई वित्त कम्पनीहरूले पनि खराब कर्जा असुली समस्याको रुपमा रहेको छ । वित्त कम्पनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले अधिकांश वित्त कम्पनीको खराब कर्जा बढेको देखाएको हो ।

समग्र अर्थतन्त्रमा आएको सुस्तताको असर बैंक तथा वित्तीय संस्थामा उस्तै प्रकृतिले परेको छ । फाइनान्स कम्पनीले कर्जा उठाउन निकै गाह्रो भइरहेको बताएका छन् ।

आर्थिक क्षेत्रमा देखिएको संकुचनकै प्रतिबिम्ब वित्त क्षेत्रको खराब कर्जामा देखिएको हो । अहिले बजारमा देखिएको अर्थतन्त्र संकुचनकै कारण वित्तीय विवरणमा खराव कर्जाको अंश बढेको हो । कर्जा रिकभरीमा समस्या देखिएको छ । अर्थतन्त्र विस्तारै चलायमान हुँदै जाँदा खराब कर्जामा सुधार हुँदै जान सक्ने अपेक्षा बैकर्सहरूले गरेका छन् ।

चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी गुडविल फाइनान्सको खराब कर्जा छ । गत आवको दोस्रो त्रैमासमा पनि यही फाइनान्सको खराब कर्जा उच्च थियो । गत आवको पुससम्ममा गुडविलको खराब कर्जा अनुपात १०७.९३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १०९.७३ प्रतिशत पुगेको छ ।जानकी फाइनान्सको खराब कर्जा अनुपात गत आवको पुससम्मको तुलनामा ८.८१ अंकले बढेको छ । गत आवको पुससम्ममा ११.१८ प्रतिशत रहेको जानकी फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर १९.९९ पुगेको हो ।

गोर्खाज् फाइनान्सको खराब कर्जा अनुपात ६.५४ अंकले बढेको छ । गत आवको पुससम्ममा ६.७६ प्रतिशत रहेको यो फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १३.७३ प्रतिशत पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा प्रोगेसिभ फाइनान्सको खराब कर्जा अनुपात ११.४५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यो फाइनान्सको खराब कर्जा अनुपात ४.९१ रहेकोमा चालु आवको पुससम्ममा ६.५४ अंकले बढेको हो ।

रिलायन्स फाइनान्सको खराब कर्जा अनुपात चालु आवको दोस्रो त्रैमासमा ४.७८ प्रतिशतले बढेर ९.६७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस फाइनान्सको खराब कर्जा अनुपात ४.८९ प्रतिशतमात्रै थियो । सेन्ट्रल फाइनान्सको खराब कर्जा अनुपात १.८१ अंकले बढेर ९.४४ प्रतिशत पुगेको छ । गत आवको पुससम्ममा ७.६३ प्रतिशत रहेको यस फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेको हो ।

गुहेश्वरी फाइनान्सको खराब कर्जा अनुपात ३.३३ अंकले बढेको छ । गत आवको पुससम्ममा ३.२१ प्रतिशत रहेको यो फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा ६.५४ प्रतिशत पुगेको छ । मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स र पोखरा फाइनान्सको खराब कर्जा अनुपात सामान्य रुपमा बढेको छ । यी फाइनान्सको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा कम छ ।

अधिकांश फाइनान्स कम्पनीको खराब कर्जा अनुपात बढे पनि ४ वटाले भने खराब कर्जामा सुधार गरेका छन् । आईसीएफसी, बेस्ट, समृद्धि र नेपाल फाइनान्सले खराब कर्जामा सुधार गर्दै अनुपात घटाएका हुन् ।

गत आवको दोस्रो त्रैमासमा २.८६ प्रतिशत रहेको आईसीएफसी फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा २.२१ प्रतिशतमा झरेको छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशत रहेको बेस्ट फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा ३.३२ प्रतिशतमा झरेको छ ।समृद्धि फाइनान्सले ९.२४ अंकले खराब कर्जा अनुपात घटाएको छ । गत आवको दोस्रो त्रैमासमा १३.९२ प्रतिशत रहेको यस फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा ४.६८ प्रतिशतमा झरेको छ ।

यस्तै, गत आवको दोस्रो त्रैमासमा १४.१९ प्रतिशत रहेको नेपाल फाइनान्सको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा ३.६७ अंकले घटेर १०.५२ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय आर्थिक संकुचनका कारण हरेक क्षेत्रमा समस्या आइरहेको, ऋणीको ऋण तिर्ने क्षमता कमजोर भएको तथा उनीहरूबाट कर्जा असुल्न कम्पनीहरूलाई निकै सकस भइरहेको विज्ञहरुले बताएका छन । खराब कर्जा बढ्दै जाँदा त्यसबापतको सम्भावित नोक्सानीका लागि ठूलो मात्रामा रकम प्रोभिजनिङ गर्नुपर्दा कम्पनीहरूको नाफामा समेत संकुचन आएको छ ।

विकास बैंकलाई पनि सकस

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकको पनि खराब कर्जा बढेको छ । बैंकहरूले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले सो कुरा देखाएको हो । गत आवमा बैंकहरूको औषत खराब कर्जा अनुपात पाँच प्रतिशतभन्दा तल थियो । समग्रमा बैंकहरूको खराब कर्जा अनुपात बढे पनि केही बैंकहरूले भने गत वर्षको तुलनामा सुधार गरेका छन् ।

सबैभन्दा कम खराब कर्जा सिन्धु विकास बैंकको छ । गत आवको पुससम्ममा यो बैंकको खराब कर्जा अनुपात ४.९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १.०५ प्रतिशतमा सीमित रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको बढेको छ । गत आवको पुस मसान्तसम्ममा २.८३ प्रतिशतमात्रै रहेको नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात चालु आवको सोही समयसम्ममा बढेर २७.७५ प्रतिशत पुगेको छ । विकास बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा यो बैंकको देखिएको हो ।

यस्तै, सप्तकोशी विकास बैंकको खराब कर्जामा सामान्य सुधार देखिएको छ । गत आवको पुस मसान्तसम्ममा १५.९ प्रतिशत रहेको यो बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा १४.१६ प्रतिशतमा झरेको हो । यी दुईबाहेक ६ विकास बैंकको खराब कर्जा अनुपात चालु आवको पुस मसान्तसम्ममा ४ प्रतिशतभन्दा माथि छ । गत वर्षको सोही अवधिमा यी ६ मध्ये ३ विकास बैंकको मात्रै खराब कर्जा अनुपात ४ प्रतिशतमाथि थियो ।

खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि हुनेमा सांग्रिला डेभलपमेन्ट, ज्योति विकास, एक्सल डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट र महालक्ष्मी विकास बैंक छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा मितेरी डेभलपमेन्ट बैंकले खराब कर्जा अनुपात घटाएको छ । यस बैंकको गत आवको पुस मसान्तसम्ममा २.८६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा २.७४ प्रतिशत छ । यसपछि कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खराब कर्जा घटाएका छन् । यसअनुसार उनीहरूको खराब कर्जा अनुपात पनि घटेको छ ।

अर्थतन्त्रमा आएको मन्दीका कारण विकास बैंकहरूको व्यवसायमा पनि असर परेको हो । समग्र बजारमा उपभोक्ताको क्रयशक्ति न्यून बन्दा बजार माग समेत सिर्जना नभएको, आम्दानी घटेको लगायत कारणले बैंकहरूको कर्जाको साँवा–ब्याज असुल हुन सकिरहेको छैन । यसकारण बैंकहरूको खराब कर्जा बढ्दै गएको हो । सरकारका विभिन्न तथ्यांकले अर्थतन्त्रमा क्रमशः सुधार आएको देखाए पनि यथार्थमा त्यस्तो नभएको बैंकहरूको खराब कर्जाको उकालो ग्राफले देखाउँछ । अर्थतन्त्र सुधार भएपछि बैंकहरूको खराब कर्जामा पनि सुधार हुन्छ । तर, अहिले खराब कर्जा घट्नुको साटो झन् बढ्दै गइरहेको देखिन्छ ।

चालु आवको दोस्रो त्रैमासमा विकास बैंकको मात्र नभई वाणिज्य बैंक तथा फाइनान्स कम्पनीहरूको समेत खराब कर्जा बढेको छ । यसकारण उनीहरूले सम्भावित कर्जा नोक्सानीको जोखिमका लागि प्रोभिजन छुट्याउनुपर्दा नाफामा समेत असर परेको छ । बैंकहरूले कर्जाको असुली गर्न नसक्दा यसको असर उनीहरुको नाफामा देखिएको छ । बैंकहरुले कर्जाको साँवा–ब्याज उठाउन नसक्दा त्यसलाई प्रोभिजन गर्नुपर्ने हुन्छ । जसले अधिकांश बैंकको वितरणयोग्य नाफा नकारात्मक देखिएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार