स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताउनुभयो ।

उहाँले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । उहाँले अहिले गाउँहरू बसाइसराइका कारण रित्तिइसकेको बताउनुभयो ।

मन्त्री बस्नेतले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नव्यहोर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट छ । त्यसकारण नेपालमा पढ्न पाउनुपर्‍यो भनेर, धेरै देशले पैसा तिरेर पढ्न पाउनुपर्छ भनिरहेका छन् । माल्दिभ्सका स्वास्थ्यमन्त्रीजीले त जति पटक भेट्यो उतिपल्ट भन्नुभएको छ । त्यो विश्वास छ, नेपालको मेडिकल शिक्षाप्रति । इण्डियामा २० लाख मान्छेले पढ्न फारम निवेदन दिँदा रहेछन् । परीक्षा दिँदा रहेछन् । नौ लाख बराबर पास हुँदा रहेछन् । एक लाखले भर्ना हुन पाउँदा रहेछन् । आठ लाखमध्येमा २५ हजार मात्रै डाक्टर नेपालमा पढाउन पाउने हो भने नेपालले खर्बौँ रुपियाँ कमाउँछ । भारतका मात्रै विद्यार्थी आउँदा ।’’

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरूको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज हाम्रा विद्यार्थीहरू बेपत्ता छन् । नेपालको इतिहासमा नेपालको मेडिकल क्षेत्रको इतिहासमा यो ठुलो क्रान्तिकारी कदम हो । आज हामी एयरपोर्टमा जाऔँ, हजारौँको सङ्ख्यामा बाहिराएका छन् । गाउँ रित्तिइसक्यो अब । बुढापाका, बच्चाबच्चीहरु मात्रै छन् । बच्चा पनि कहाँ युवायुवती गाउँमा बस्दैनन् । बसाइसराइको समस्या ठुलो भइसक्यो अब । हामी नेताहरू ठुलाबडा भन्नेहरू सामान्य रोग लागे विदेश जाने, ठुलो रकम खर्च गराउने, गरिब र विपन्नहरूको लागि हामीले डाक्टर पठाउन सकेका छैनौँ ।’’

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार