आजपाले भन्यो: मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरियो

लहान । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदापनि मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरिएको भन्दै चिन्ता व्यक्र गरेको छ ।

आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

आजपाले मधेश आन्दोलनका प्रथम शहीद महतोको सहादत दिन माघ ५ गतेको सन्दर्भ पारेर मनाईने बलिदान दिवसको विशेष अवसरमा देश र जनताका लागी आफ्नो अमूल्य जीवनको उत्सर्ग (बलिदान) गर्नेहरुप्रति उच्च श्रद्धा एवं सम्मान व्यक्त गरेको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै आम मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गर्दै मधेशका कथित ठेकेदार र मसीहाहरुले आफ्नो पर्सनल, पारिवारिक र पार्टीगत सत्ता स्वार्थ सिद्धिको संकिर्णतामा रुमलिरहेको आरोप लगाएका छन् ।

‘मधेश विद्रोह मार्फत प्राप्त जनादेशको मुल र भावना विपरीत कथित मधेश केन्द्रित दल र तीनका छद्मवेशी बहुरुपिया नेताहरु नै विगतदेखि वर्तमानसम्म पटक पटक सत्ता लिप्सा र कुर्सीका लागी हाम्रा महान शहीदहरुको सपनासंग सौदाबाजी गर्दै आएको घृणित ठगी, भ्रष्टिकृत धोखाधडी, बेईमानी र गद्दारीप्रति कडा शब्दमा निन्दा एवं घोर भर्तस्ना गर्नुको साथसाथै आम जनभावना र शहीदहरुको अधुरा सपनाहरुलाई सार्थकता प्रदान गर्ने गराउने पथमा हामी निरन्तर अगाडि बढिरहने दृढ़ संकल्प समेत गर्दछौं’साहले विज्ञप्तिमा भनेका छन् ।

समग्र मधेशको पहिचान एवं स्वाभिमानलाई केवल सप्तरीदेखि पर्साभित्र ८ जिल्लामा सिमित हक अधिकारविहीन प्रदेश बनाउने,कांग्रेस-एमालेको काँधमा आलोपालो सरकार चलाउने,कुर्सीका लागी पटक-पटक मधेशलाई बेचेर अपमानित गर्ने, भ्रष्टाचार र जंगलराजको किर्तिमान खडा गर्ने मधेशका ठग, दलाल, पथभ्रष्ट, चोर एवं गद्दार नेताहरुसंग साँचो अर्थमा भन्ने हो भने शहीदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्ने कुनै नैतिक धरातल अब बाँकी नरहेको आजपाले भनाइ छ ।

हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत पाँच वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार