काठमाडौं । गत वर्ष मंसिरमा सम्पन्न संघीय निर्वाचनमा प्यूठानबाट सात दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बनेर पराजित भएकी दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रिय जनमोर्चाले प्रस्ताव गरेको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न जनमोर्चाले प्रस्ताव गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।
‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’
आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।
पौडेल संघीय निर्वाचनमा प्यूठानबाट नेकपा एमालेका युवा नेता सूर्य थापासँग भारी मतले पराजित भएकी थिईन् । २०७४ सालमा एमाले माओवादीको सहयोगमा संसद्मा निर्वाचित पौडेल जनमोर्चाको माउ पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमतीसमेत हुन् ।