कोसी विवादले राप्रपामा फेरि रडाको

काठमाडौं । पार्टीको निर्णयबिनै राप्रपाका सांसद अम्बर विष्ट कोसी प्रदेशको सभामुख भएपछि राप्रपाभित्र फेरि रडाको माच्चिएको छ । राप्रपाका अधिकांश नेताहरू तत्काल सभामुख वा सरकारमा जने पक्षमा नभए पनि त्यस विपरीत बिष्टले काम गरेको भन्दै उनलाई फिर्ता हुन पत्रसमेत पठाइएको छ । विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्षी एमालेका सांसदले समर्थन गरेका थिए ।

प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र प्रेमराज थाम्सुहाङले विष्टको एकल उम्मेद्वारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उपसभामुख दनुवारले विष्ट निर्विरोध घोषणा गरेकी थिइन् ।

प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोसी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । कांग्रेसका आठ सांसदले विद्रोह गरेपछि एमालेको समर्थनमा कांग्रेस नेता कार्कीको नेतृत्वमा सरकार गठन भए पनि मन्त्रीमण्डल विस्तारमा माओवादीलाई समेटेपछि एमाले सरकारप्रति रुष्ट थियो ।

एमालेले समर्थन नगर्दा र सत्ता गठबन्धनबाट सभामुख चयन गर्दा सरकार अल्पमतमा पर्ने स्थिति आएपछि राप्रपालाई सभामुख दिएर सरकारको पक्षमा बहुमत कायम राख्न मुख्यमन्त्री कार्की प्रदेशदेखि केन्द्रसम्म खटेका थिए । कांग्रेसका एक प्रदेशसभा सदस्यका अनुसार हालको सत्ता गठबन्धनका पक्षमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ जना सांसद छन् । त्यसमध्येबाट सभामुख लिँदा सरकारको पक्षमा ४६ सांसद मात्र रहँदा एमालेले सहयोग नगर्दा सरकार अल्पमतमा पर्ने अवस्था थियो ।

यसअघि विष्टले यही प्रदेशसभाको काम नभएको भन्दै प्रदेश खारेज गरिनुपर्ने रोस्ट्रमबाटै धारणा राख्दै आएका थिए । सभामुखमा निर्वाचित भएपछि उनले विगतका आफ्ना मागलाई तत्काल थाती राख्ने र संविधानबमोजिम काम गर्ने प्रतिक्रिया दिएका छन् । झापा गौरादहका ७० वर्षीय विष्ट समानुपातिक सांसद हुन् ।

सभामुखमा पार्टीका सांसदलाई अगाडि सारेकामा राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन् । पार्टी बैठकमा कोसी प्रदेशसभाको सभामुख लिन नहुने भनेर सहमति गर्ने अनि कसैलाई जानकारी नै नदिई सभामुखमा दाबी गर्ने निर्णयबारे केन्द्रीय कार्यसम्पादन समितिमा छलफल हुनुपर्ने माग उनको छ ।

‘दुई साताअगाडि अध्यक्षले नै सभामुखमा जाने कुरा स्थगित भयो भन्नुभयो । तर, कसैलाई थाहै नदिई सभामुख पदमा दाबी प्रस्तुत गरेछन्’, उनले भने, ‘सभामुखमा दाबी गरेपछि पार्टी केन्द्रीय निर्देशन समिति बोलाउँदा यस्तो कुनै हालतमा हुनुहुँदैन भन्ने भयो । आन्दोलनले जे कुरा हटाउन खोजेको भन्दै छौँ, त्यसैको संरक्षण गर्नुपर्ने पदमा जानु हुँदैन भन्ने भएपछि विज्ञप्ति जारी गरिएको हो ।’ यो निर्णय सच्याउन र त्यस्तो गर्नेलाई कारबाही गर्न लोहनीले माग गरेका छन् ।

उनले मंगलबारै विष्टलाई पत्र पठाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर विष्टले भने सो निर्देशनको अवज्ञा गर्दै सभामुखमा उम्मेदवारी दिए ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार मात्र स्वदेश फर्किएका छन् । उनले यस विषयमा कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए । स्रोतका अनुसार सभामुख विष्ट आफ्नो चुनाव क्षेत्रको भएकोले पनि उनले सहमति जनाउने लक्षण देखाएका छन् ।

राप्रपाको यसपटकको चियापान विशेष

राष्ट्रिय एकता दिवसको अवसर पारेर सो पार्टीले शुक्रबार देशका विभिन्न भागमा कार्यक्रमको आयोजना गरेको छ । यसका लागि ६ वटा महानगरपालिकामा भने पार्टीले केन्द्रबाट नै विशेष नेताहरू खटाएको छ । यसरी चियापान कार्यक्रमा यसरी विशेष नेता खटाएको यो पहिलोपटक हो ।

यस्तो नेता खटाउने जिम्मा महामन्त्री राजेन्द्र गुरुङलाई जिम्मा दिएको थियो । सो अनुसार नेताहरू खटाएको बताइएको छ ।

शुक्रबारका चियापानका लािग राजधानीको भृकुटीमण्डमा काठमाडौं र ललितपुरको जिम्मा स्वयं अध्यक्षले लिने भएका छन् । त्यसैगरी नेपालगञ्जमा कुन्ती शाही, पोखरामा रविन्द्र मिश्र, वीरगञ्जमा डा.राजेश गिरी र विराटनगरमा डा.धवल शमशेर राणालाई खटाइएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार