गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न

काठमाडौं । उच्च अदालत कास्कीका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा संयुक्त रूपमा आयोजित गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० पोखरामा आइतबार सम्पन्न भएको छ ।

गोष्ठीमा मुख्य न्यायाधीश पोखरेलले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रण गर्न प्रहरी र नागरिकबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका सामना गर्दै प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङ्कहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहेको बताउनुभयो । पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानवअधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, मुख्य न्यायाधिवक्ताको कार्यालय पोखराका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल र स्थानीय न्यायिक समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै गोष्ठीको महत्वबारे चर्चा गर्नुभएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले स्वागत मन्तव्य एवं गोष्ठीको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता यदुनाथ शर्मा, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, गण्डकी प्रदेश मातहत ११ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति, चुनौती र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।

गोष्ठीमा वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार