राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए ।‘राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ’, उनले भने, ‘उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौं । सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ ।’

यो बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने भएको छ । ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान दिएर छुटेका नेताहरू र समुदाय तथा भूगोल मिलाएर उम्मेद्वार उठाउँछौँ’, उनले पत्रकारहरूसँग भने ।

विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए । ‘संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति वफादार स्वच्छ छविका, अवसरबाट वञ्चित र योग्यहरूलाई अवसर दिन्छौँ’, विश्वकर्माले भने । कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अनेक प्रयासका बाबजुद सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए । ‘लोकतन्त्रको अर्को परिभाषा पारदर्शिता र सुशासन हो । सरकारको सकारात्मक प्रयासका बाबजुद पनि यस विषयमा आमजनता विश्वस्त हुन सकेको पाइँदैन’, कांग्रेसले भनेको छ, ‘सरकारबाट प्रदान गरिने सेवा जति सुलभ ढंगले जनताले प्राप्त गर्न सक्छन्, त्यति नै सुशासनको अनुभूति बढ्दै जान्छ । जति फराकिलो मात्रामा सुशासनको सन्देश फैलिन्छ, त्यति नै लोकतान्त्रिक प्रणालीको दिगो विकास हुने भएकोले शान्ति, सुव्यवस्थाको प्रत्याभूतिसँगै सुशासनका लागि प्रभावकारी नीति अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गर्ने ।’

कांग्रेसले संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानले निर्दिष्ट गरेका धेरै सवालहरूमा आवश्यक कानुन निर्माण हुन नसकेकाले प्रणालीप्रति नै प्रश्न उठाउने प्रयास भइरहेका जनाएको छ । ‘नेपाली जनताको चाहना र भावना समेटिएको यो संविधानको प्रभावकारी कार्यान्वयनले नै हाम्रासामु देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक अन्यौलता हटाउन सक्छ’, कांग्रेसले अगाडि भनेको छ, ‘१२ बुँदे समझदारी र बृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पु¥याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्षसहित यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि यो बैठक अपील गर्दछ ।’ ज्याला मजदुरी, खेतीपाती र व्यापार व्यवसाय गर्ने व्यक्ति तथा परिवारले कमाएर सहकारीमा जम्मा गरेको रकम सञ्चालकले मनोमानी ढंगबाट आफूखुसी कारोबार गर्ने गरेकोमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।

‘वचत अनियमितता र अपचलन गरी हिनामिना गर्ने गरेका समस्या देशव्यापी रूपमा फैलिएको र यसले सर्वसाधारण नागरिकलाई अत्यन्तै अप्ठ्यारो पारेको छ’, कांग्रेसले भनेको छ, ‘कतिपय सहकारीसँग कारोबार गरी पीडित भएका नागरिकबाट विभिन्न ठाउँमा आन्दोलन भइरहेको घटनाबारे विगतको बैठकले नै सरकारको ध्यानाकर्षण गराइसकेको छ । यस क्षेत्रको समस्याले सर्वसाधारण जनता र साना तथा अनौपचारिक क्षेत्रमा व्यवसाय गर्ने वर्गको दैनिक जीवनमासमेत कठिन परिस्थिति सिर्जना गर्दै लगेको र सरकारप्रति नै नकारात्मक धारणा बन्न थालिसकेको छ । यस क्षेत्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्रको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न तथा वचतकर्ताको लगानी फिर्ता पाउने कुराको सुनिश्चितता गराउन सरकारले तत्काल प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ ।’

यसैबीच नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आइतबार पार्टी सभापति देउवालाई भेटेर राष्ट्रिय सभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो । युनियनको पदाधिकारी बैठकले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवी भएका ट्रेड युनियनलगायत पेसागत संगठन र बौद्धिक व्यक्तिबाट उम्मेद्वार छनोट गर्न सभापति देउवाको ध्यानाकर्षण गरेको छ । भेटमा सभापति देउवाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेद्वार छनोट गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार