बाराको आदर्श कोतवालमा ४ सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका -५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय टेढाकट्टीका विद्यार्थीहरु बेन्च नहुँदा भुइँमा बसेर पढ्न बाध्य छन् । २०२२ सालमा स्थापना भएको सो विधालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको कारण अहिले त्यहाँ अध्ययनरत करिब ४ सय बिद्यार्थीहरु भुइँमै बसेर पढ्न बाध्य भएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि बाराको आदर्श कोतवाल गाउँपालिका –५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।

सो बिद्यालयमा अध्ययनरत करिब ४ सय बालबालिका विद्यालयमा टेबल र बेञ्च नभएपछि चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो छ । विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् ।

तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । सो विद्यालयका प्रधानाध्यापक सारदा सिंहले बेन्च नहुँदा समस्या भएको दुखेसो पोखिन् । विद्यालयको अवस्थाका विषयमा गाउँपालिकाका शिक्षा शाखासहित गाउँपालिका अध्यक्ष जवाहरप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृत नथु सहनीलाई जानकारी दिएको तर कसैले गम्भिररुपमा नलिएको विद्यालयकी प्रअ सिंहको गुनासो छ ।

यता आदर्श कोतवाल गाउँपालिका ५ का वडाध्यक्ष रुपेश नारायण सिंहले उक्त विद्यालयका लागि नयाँ ४ कोठे भवन निर्माण भईसकेको र सो भवनमै विद्यार्थीहरुकाे लागि बेञ्च डेस्क राखिएको बताए । उनले यो बर्षमा जसरि भए पनि आफूहरु मिलेर उक्त विद्यालयलाई नयाँ भवनमा सार्ने बताए । त्यस्तै उनले ५ नम्बर वडामा ३ वटा बिद्यालय भएको तर गाउँपालिकाले ५ नम्बर वडाको विकासको लागि मात्र ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको कारण आफूहरुलाई विद्यालयको शैक्षिक अवस्था सुधार गर्नमा समस्या भएको बताए ।

विद्यालयमा विशेषगरी विपन्न र दलित समुदायका बालवालिका पढ्छन् । संरचना अभावमा उनीहरू बोरा ओछ्याएर पढ्न बाध्य छन् । १ देखि ५ कक्षासम्म पढाइ हुने साे विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटै काेठामा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ । विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले विद्यालयलाई बेवास्ता गरेको हुनसक्ने स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार