रौतहट । राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले ६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीका जिल्ला सभापति सुनिल यादवको सभापतित्वमा बुधबार जिल्लाको सदरमुकाम गौरमा बसेका कार्यसमितिको बैठकबाट उमेदवारहरुको नाम टुंगो लगाएको हो ।
मधेस प्रदेशअन्तर्गत दुई पदको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ६ जनाको नाम पठाइएको छ । राष्ट्रियसभा निर्वाचनको लागि रौतहट क्षेत्र नम्बर १ बाट बिन्दा सहनी, क्षेत्र नम्बर २ बाट रामचन्द्र गिरी, गृषन्नदन कुमार सिंह, क्षेत्र नम्बर ३ बाट हृदयनरायण यादव, क्षेत्र नम्बर ४ बाट मिथिलेस कुमार मिश्रा र अपांग कोटाबाट एक जना गरी ६ जना उम्मेदवारहरुको नाम टुंगो लगाएका हो ।
नेपाली कांग्रेसले यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जिल्लाबाट आफ्ना उम्मेदवारहरुको नाम पठाउन परिपत्र जारी गरेको थियो । सोही अनुरुप प्रत्येक जिल्लाबाट उम्मेदवारहरुको नाम छनोट गरी पठाउने कार्य भइरहेको छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।
निर्वाचन आयोगका अनुसार आउँदो पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम तोकिएको कागजात पेस गर्नुपर्ने आयोगले जनाएको थियो ।