महोत्तरी । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी– २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागूऔषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
सेखको साथबाट बरामद भएका लागूऔषधमा ६४० थान प्रोमेन्थाजाइन, ५५६ थान डाइजापाम र ४९८ थान ब्रुफ्रेनरफिन नामका इन्जेक्सन एम्पुलहरु भएको सशस्त्रको जलसागरस्थित नेपाल नं ९ गण हेड क्वार्टरले सोमबार जनाएको छ ।
मटिहानीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमबहादुर भुजेलको कमाण्डमा खटिएको टोलीले मटिहानी– ८ स्थित गन्धी गल्ली इलाकामा चेकजाँच गर्ने क्रममा सेखलाई पक्राउ गरेको हो ।
भारत बिहारको मधवापुर बजारबाट निलो झोलासहित नेपाल प्रवेश गरेका सेखलाई रोक्न खोज्दा भागेपछि लखेटेर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट लागूऔषधको रुपमा प्रायः सीरप र ट्यावलेट बरामद हुने गरे पनि यति ठूलो मात्रामा इन्जेक्सनबाट लगाइने लागूऔषध फेला परेको यो पहिलो पटक भएको प्रहरीले जनाएको छ ।
सेखलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टर महोत्तरीका सशस्त्र डिएसपी विकाश अधिकारीले बताए । सेखले उक्त लागूऔषध भक्तपुर लैजान खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।