२९औं अन्तर माध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

काभ्रे । ​प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। नेपाल प्रहरीका स्कुलहरूले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत प्रतिभाको पहिचान गर्दै त्यसलाई फलाउने र फुलाउने वातावरणलाई प्राथमिकता दिँदै आएको उनले उल्लेख गरे।

विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने बताए। विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गरे। साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गरिन्।

शुक्रबार भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३-० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो। प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर टीम प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार