सिरहा । म्याद थपको लागि ल्याइएका हतकडीसहित सिरहाबाट फरार भएका आरोपित युवकलाई प्रहरीले २४ घण्टा नबित्दै पुनः पक्राउ गर्न सफल भएको छ ।
बाल यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका लहान नगरपालिका–२१ बस्ने ३० वर्षीय छोटु सदाय शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिसिल देखाउने क्रममा गेटबाट फरार भएका थिए ।
इलाका प्रहरी कार्यलय लहान सिरहाबाट प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमाण्डमा खटिएको टोलीले सदायलाई कल्याणपुर नगरपालिका– १२ थलहामा लुकिछिपी बसिरहेको अवस्थामा पुनः पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक विनेश यादवको कमाण्डमा ६ जना प्रहरी कर्मचारीहरूले तीन जना थुनुवा लिएर जिल्ला अदालत सिरहामा कानूनी प्रक्रियाको लागि पठाएकोमा सदाय भने भागेका थिए ।
उनी फरार भएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाले व्यापकरुपमा प्रहरी परिचालन गरी खोजतलास गरेको थियो । उनीमाथि जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित गत पुस ५ गते दिनाजपुर सरन्सिया भित्री सडक खण्डमा पैदल आउँदै गरेकी नाबालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ ।