जाडो बढ्यो, धनुषाका मुसहरलाई जाडो छल्न समस्या

जनकपुरधाम । गर्मी महिनामा प्रचण्ड गर्मी र जाडो महिनामा अत्यधिक चिसो रहने मधेसमा दैविक प्रकोपको समस्या बेग्लै रहेको छ ।जसमध्ये अहिले मधेसमा शिशिर ऋतुको आगमनसँगै चिसो बढ्ने क्रम जारी छ । चिसोयाममा शरीर छोप्नलाई लुगाफाटाको आवश्यकता हुन्छ ।

शरीर छोप्नका लागि सिरक, डस्ना र ओच्छ्यान बिछ्यानको प्रबन्ध पनि त्यतिकै आवश्यकता हुन्छ । तर मधेसको राजधानीमै कतिपय वस्तीमा शरीर छोप्न लुगाफाटा र चिसोबाट जोगिनका लागि कम्बल, सिरकलगायत आवश्यक लुगाफाटा नहुँदा मुसहर समुदाय विच्चलीमा परेको देखिन्छ ।

निर्वाचनताका प्रायः नेता तथा प्रत्यासी उम्मेद्वारहरू भोट रिझाउनलाई मानिसलाई बाँच्नका लागि चाहिने अत्यावश्यकताहरूमाथि पनि राजनीति हुँदा अहिले गरिब, असहाय, निमुखा तथा सिमान्तकृत वर्गहरू चिसोयाममा बिचल्लीमा परेका छन् ।

निर्वाचनमा नेता तथा प्रत्यासी उम्मेद्वारहरूले आफ्नो रोटी सेक्ने नाममा भोट रिझाउनका लागि विभिन्न दाउपेच लगाउँदै गरिब, दलित, पिछडिएका समुदाय तथा सिमान्तकृत वर्गका वस्तीमा पुगेर आश्वासन दिए पनि पूरा नगर्दा अहिले उनीहरूमाथि आलोचना गर्दै खनिएका छन् । नेताहरूले गरिब, दलित तथा सिमान्तकृत वस्तीमा रहेको झुपडीमा गएर गाँस, बास, कपास तथा रोजगार दिने आश्वासन दिए पनि निर्वाचित भएपछि नेताहरूले माग पूरा नगरेपछि अन्योलमा परेको मुसहरहरू बताउँछन् ।

मुसहर वस्तीमा निर्वाचनताका नेताहरूको प्रतिवद्धताप्रति तीतो अनुभव रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने सुबोध माझीले भने, ‘नेताहरू प्रत्येक निवार्चनमा आउँछन्, लोभ दिन्छन्, मत लिन्छन्, तर वाचा पूरा नगर्दा घरबारविहीनताको अनुभव छ ।’जनकपुरधाम–२० स्थित बसहियाको मुसहर वस्तीका स्थानीय माझीले जाडो बढ्दा आगो ताप्न घुर प्रयोग गरी रात बिताउने गरेको बताए । बालबच्चालाई न्यानो लुगा किन्न पनि धौधौ परिरहेको छ । दिनभर काम गरी जोगाएर राखिएको रकमले बच्चाहरूलाई न्यानो लुगा किन्ने विचारमा रहको उनी बताउँछन् ।

उनले निर्वाचनको बेला नेताहरू आउने जाने गरे पनि अहिले भने हामी कुन अवस्थाबाट गुज्रिरहेका छौँ, त्यसप्रति वास्ता नगर्दा दुःख लागेको गुनासोसमेत गरे । उनले भने, ‘हामीलाई काम दिएमा हामी सबै आफ्नो घरपरिवार र बालबच्चालाई पढाउन लेखाउन पनि सक्नेथ्यौ ।’

विगतमा चुनावका बेला नेताहरूले झुपडी हटाएर घर बनाइदिने भने पनि मधेस प्रदेश सरकारले बनाउन लागेको घर अहिलेसम्म पनि अधुरै छ ।पक्की घरमा बस्ने आश मरे पनि झुपडीमै रहँदै आएका मुसहर समुदायहरू स्थायीरूपमा घर नहुँदा निकै कठिनाइका साथ रहँदै आएका छन् । आफ्नो नाममा जग्गाजमिन नहुँदाको समस्या एकातर्फ रहे पनि मौसमै पिच्छे समस्या भने आइ नै रहन्छ । घरबारविहीन हुँदा वर्षायाममा ओत लाग्ने समस्या, जाडोयाममा शरीर छोप्न समस्या हुने गरे पनि जसोतसो दिन बिताउँदै आएका मुसहर वस्तीमा मुसहरहरू कष्टप्रदायक जिवनव्यतित गर्न बाध्य छन् ।त्यस्तै स्थानीय सेवक सदाले मौसमै पिच्छे हामीलाई हरेक वर्ष वर्षात, जाडो, हावाहुरीलगायत विभिन्न समस्या र चुनौतीलाई झेलेर भए पनि भगवान् भरोसे जिउन बाध्य रहेको बताउँछन् । उनले हाम्रो घर, बालबालिकालाई शिक्षादीक्षा लगायतका खाद्यान्न तथा रोजगारीको आवश्यकता रहे पनि हामीलाई समाजले पनि वास्ता नगरेको दुःखेसो पोखे । उनले भने, ‘हामी धेरै गरिब छौँ, वर्षातको बेला, जाडोको बेला, हावाहुरी आएको बेला निकै नै कष्टदायपूर्णले घरमा ओत लागेर बस्नुपर्ने बाध्यता छ ।’

निर्वाचनताका नेताहरू भोट माग्न आउँदा विभिन्न वाचा गरे पनि यहाँ न सडक बन्यो, न त घर बन्यो, तर अहिले हामी बिचल्लीमा परेका छौँ । नेताहरूले घरआँगनमै आएर लोभलालच, आश्वासन दिने गरेको स्मरण गर्दै सदाले भने, ‘मधेस प्रदेश सरकारले विगतमा घर बनाइदिन्छु भनेर भन्यो तर घर पनि बनाइदिएन, बरु घरबारविहीन बनाएर बिचल्ली बनायो ।’ यता धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले जनताको समस्याप्रति गम्भीर रहेको बताइन् । उनले मुलुकमा तीन तहको सरकार रहेको र प्रत्यक्षरूपमा अनुभूति हुनेगरी स्थानीय तहको सरकारको भएको बताउँदै जनप्रतिनिधिले स्थानीय नागरिकको समस्याहरू तत्काल पूरा गर्न अग्रसर हुनुपर्ने र यसका लागि आफूले पहल गर्ने उनले भनिन् । नेताहरूले लोकतन्त्रको अनुभूति गरे पनि जनताले यसकोे उपभोगसमेत गर्न नपाउँदा गरिब, असहाय, निमुखा जनता झनै पीडित हुनु दुःखद् रहेकाले आफूले फेरी पनि समस्यामा रहेका पीडित जनताको आवाजलाई उठाउने र समस्या समाधानका लागि पहलकदमी लिने बताइन् ।

मधेस प्रदेश सरकारले मुसहर वस्तीलाई केन्द्रित गर्दै झुपडीको ठाउँमा पक्की घर बनाइदिने भन्दै झुपडी भत्काएर पक्की घर बनाउने कार्यलाई सुरु गरेको थियो । तर पक्की घर निर्माणका लागि कुर्सी खडा गर्दै भित्ता उठाउने कार्य गरेको थियो । तर सो घरको काम सुरु भएको तीन वर्ष बित्दा पनि घर भने बनेनन् । घर न बन्दा मुसहर वस्तीका समुदायहरू घाम, पानी, हावाहुरी र जाडोमा निकै कठिनाइका साथ बाँच्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार