बोदे बर्साईनमा नगरस्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नगरस्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् । शुक्रबार बोदे बर्साईन नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका हुन् । नगरपालिका– ७ हैठीस्थित श्री सामुदायिक राष्ट्रिय शिवशंकर आधारभूत विद्यालयमा एक कार्यक्रमको बीच प्रतियोगिताको रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको थियो ।

नगरभरका विभिन्न विद्यालयका विद्यार्थीहरुको अन्तर निहित प्रतिभा पहिचान गर्ने र उनीहरुको क्षमतामा अभिवृद्धि गराउन आपसमा प्रतिस्पर्धा गर्न मनोबल वृद्धि गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहले बताइन् । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयको सहभागिता रहेको थियो ।

विभिन्न तहका विद्यार्थीहरुलाई तहगतरुपमै अतिरिक्त क्रियाकलाप गर्न लगाइएको थियो । कक्षा १ देखि ३ सम्मका लागि हिज्जे प्रतियोगिता गराइएको थियो । जसमा छात्रतर्फ प्रावि धनगढीका बिकिकुमार मन्डल प्रथम, बि. कुशमाहारका प्रीन्स मन्डल द्वितिय र अ. बि. भाटिनका विशालकुमार राम तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ प्रावि हैठिकी अर्या झा प्रथम, बि. सोहर्वाकी शिवानी कुमारी साह द्वितिय र अ. बि भाटिनकी राशिका कुमारी पण्डित तृतीय भएका थिए ।

त्यसैगरी कक्षा ४ देखि ५ सम्मका लागि हिसाब दौड प्रतियोगिता सञ्चालन गराइएकोमा छात्रतर्फ आकाश महतो प्रथम, मो. अलताफ द्वितिय र रुपेशकुमार मण्डल तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ सुरुची कुमारी यादव प्रथम, सिढी कुमारी यादव दोस्रो र दिपिका कुमारी चौधरी तृतीय भएका थिए ।

त्यसैगरी कक्षा ६ देखि ८ सम्मका लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएकोमा मा. बि सारस्वर प्रथम, आ. बि कुशमुहार द्वितिय र मावि नेगडा तृतीय भएका थिए ।

त्यसैगरी कक्षा ९ देखि १२ सम्मका लागि निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएकोमा छात्रतर्फ मावि सारस्वरका अंकित प्रसाद मण्डल प्रथम, मावि सारस्वरका इन्द्रदेव यादव द्वितिय र मावि मानराजाका सतेन्द्रकुमार यादव तृतिय भएका थिए । त्यसैगरी छात्रातर्फ मावि मानराजाकी निशुकुमारी साह प्रथम, मावि बोदे बर्साईनकी वेबिका कुमारी साह द्वितिय र मावि मानराजाकी कल्पना कुमारी यादव तृतिय भएका थिए ।

यसरी सबै तहका विद्यार्थीहरुको सहभागिता गराई नगरपालिकाले पटक–पटक अतिरिक्त क्रियाकलाप सञ्चालन गरेकोमा विद्यार्थीहरु खुसी भएका छन् ।

नगरभित्रका विद्यालय र विद्यार्थीहरुका लागि नगरपालिकाले पटक–पटक यो नमुना काम गरेको भन्दै स्थानीयहरुले प्रशंसासमेत गरेका छन् । उता आयोजक नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले पनि अभिभावकको भूमिका निर्बाह गरेकोमा बोदे बर्साईन नगरपालिकालाई र कार्यक्रममा सहभागी सबै विद्यालय तथा विद्यार्थीहरुलाई धन्यवाद दिएको छ ।

सामाजिक सञ्जालमार्फत कार्यक्रम सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरु, जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, कर्मचारीलगायत मूल्यांकनमा सहगोग गर्ने निर्णायक मण्डल, कार्यक्रम व्यवस्थापनमा कुशल र प्रभावकारी नेतृत्व लिने अतिरिक्त क्रियाकलाप सञ्चालन समिति र कार्यक्रमको सभापति पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले उपस्थित सम्पूर्णहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख साहले सम्पूर्ण सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई धन्यवाद दिएकी छन् । नगरले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको भन्दै नगरप्रमुख साहले यस्ता कार्यक्रमलाई आफूले निरन्तरता दिने र त्यसका लागि आगामी वर्षहरुमा अझ थप बजेटको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाइन् ।

कार्यक्रमका विशिष्ठ अतिथि बोदे बर्साईन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसागर यादवले कार्यक्रम व्यवस्थापनमा केही सानातिना व्यवस्थापकीय कमजोरी रहेको भए तिनलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

प्रमुख यादवले आगामी दिनमा कार्यक्रम सञ्चालन स्थल नगरपालिकाअन्तर्गतका सम्भाव्य सबै विद्यालयहरुमा आलोपालो रुपमा सञ्चालन गरिने र विद्यार्थीको चौतर्फी विकासको लागि पाठ्यक्रम र क्लेन्डरले तोके अनुसार यस्ता किसिमका अतिरिक्त क्रियाकलाप निरन्तर रुपमा सञ्चालन गरिने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार