वीरगञ्ज ।औषधि तथा खुद्रा समानहरू लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको मालबाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका– १४ गण्डक चोकस्थित सडक खण्डमा ना २ ख ९३५७ नम्बरको मालबाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिल विजकभन्दा बढी सामानहरू लोड भएको तथा सो बिल विजक शंकास्पद देखिएको हुँदा करिब रू ४५,९६,१०४ (४५ लाख ९६ हजार एक सय चार रुपैयाँ) बराबरको ट्रकभित्र लोड भएको औषधि तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक र ट्रकभित्र लोड भएको औषधि तथा खुद्रा सामानहरु अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।