उखु किसानलाई मिलले १५ दिनभित्रै उखुको रकम भुक्तान गर्ने

सर्लाही । उखु किसानले चिनी मिललाई उखु बेचेको रकम १५ दिनभित्र पाउने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उखु किसान प्रतिनिधि र मिल सञ्चालकको त्रिपक्षिय छलफलबाट त्यस्तो निर्णय गरिएको हो ।

छलफलमा उखुको हाल कायम न्यूनतम मूल्य उद्योगले भुक्तान गर्ने, आन्दोलनपछि प्राप्त गत वर्षको अनुदान बापतको बाँकी रकम किसानहरुको खातामा पठाउने र उद्योग सञ्चालन गर्ने विषयमा छलफल भएको मिलगेट उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालले किसानहरुको जायज माग सम्बोधनको लागि आफूहरुले केन्द्रसँग पहल गरिरहेको बताएका थिए । उद्योग, किसान र सरकार एक अर्काको परिपुरक भएकाले किसानको समस्याको सवालमा आफू गम्भीर रहेको धमलाको भनाई थियो ।

छलफलमा उद्योगको तर्फबाट सहभागी ईन्दुशंकर चिनी उद्योगका प्रशासकिय अधिकृत ठाकुर नेपालले तत्काललाई सरकारले कायम गरेको (अनुदान सहित ६ सय ३५ रुपैयाँका दरले) रकम, उखु काँटा भएको १५ दिनभित्रमा भुक्तानी गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी छलफलमा उद्योगले प्रदुषण न्यूनिकरणका लागि हदैसम्मका उपाए अपनाउने निर्णयसमेत भएको उखु किसान मुखचन्द्र महतोले जानकारी दिए ।

गत शुक्रबारदेखि उखुको उचित समर्थन मूल्य र गत वर्षको बाँकी अनुदान बापतको रकम माग्दै आन्दोलनरत उखु किसानहरुले बिहीबार प्रेस विज्ञप्ति निकालेर आन्दोलन स्थगित गरेका थिए । उनीहरुले बुधबार मन्त्रीपरिषद् निर्णयबाट सरकारले यस सिजनको लागि तोकेको अनुदान ७० रुपैयाँसहितको ६ सय ३५ रुपैयाँ न स्वीकार्ने निर्णय गरेका छन् ।

उखु किसानहरुले यस वर्षको लागि उखुको मूल्य ७ सय ५० रुपैयाँ कायम गर्न माग गरिरहेका छन् । सरकारले मूल्यमा पुनः विचार नगरे देशैभरका उखु किसानहरुलाई काठमाडौंमा उतारेर आन्दोलन गर्ने किसानहरुको चेतावनी छ ।

किसान आन्दोलन स्थगित भएसगैँ यस सिजनको लागि जिल्लाका चिनि उद्योगहरु सञ्चालनमा आएका छन् । यता, आजको छलफलमा कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीमा आएको अुनदान बापतको २० करोड रकम हप्ता दिन भित्रमा किसानको खातामा पठाउने समेत निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार