काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ ।
पार्टीका सचिव गणेश साहले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो । समितिका सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की रहनुभएको छ ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । उहाँका अनुसार आगामी माघभर विधान सम्मेलनमा केन्द्रित भई छलफल चलाइने छ । पदाधिकारी बैठकले पार्टीको चारमहिने अभियान पुस १६ गते समापन गर्ने, निर्णय गर्नुका साथै राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा गरी गठबन्धनमा छलफल भएपछि निष्कर्षमा पुग्ने पनि सहमित गरेको छ । बैठकमा यसअघि बोल्न बाँकी पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अरू नेताले आआफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै माओवादी केन्द्रका अर्का सचिव राम कार्कीले पार्टी विधानमा नीति, विचार, सिद्धान्त र सङ्गठनात्मक संरचना जोडिने भएकाले विधान अधिवेशनमा पार्टीको समग्र संरचनामै केन्द्रित भई छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विधान सम्मेलनले पार्टीलाई रेट्रोफिटिङ गरेर नयाँ संरचनामा प्रवेश गराउने छ ।”
यस्तै पदाधिकारी बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीमा विचार नयाँ नभएसम्म सङ्गठनले समेत गति नलिने धारणा राखेको पार्टी सचिव साहले बताउनुभयो । गृहमन्त्रीको भनाइ उल्लेख गर्दै पार्टी साहले भन्नुभयो, “हामीले विचारसँगै नयाँ पुस्तालाई समेट्ने कार्यक्रम बनाउन सक्नु पर्छ । त्यसले मात्रै पार्टीलाई जीवन्त बनाउँछ ।”